सरकारविरुद्ध अन्तर्राष्ट्रिय मिसन नेपाल बोलाउने तयारी

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते १८:५१ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा महासचिव विष्टले अहिले संसदमा प्रस्तुत गरिएको विधेयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गरे । ‘यो विधेयक कानुन बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन’, उनले भने, ‘हामीले आन्दोलन घोषणा गरिसकेका छौं ।’
उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकाले स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पारे । तर, पछिल्लो समय प्रेसलाई नियन्त्रित कानुन ल्याउने काम भएकोमा उनले आक्रोश पोखे ।
सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै सरकारविरूद्धमा लड्न गाह्रो भइरहेको पनि उनले जनाए । ‘मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं । यसको गठन प्रक्रिया र नियत नै खराब छ,’ उनले भने ।
आफूहरूलाई कुनै पनि हालतमा यो विधेयक स्वीकार्य नहुने उनको चेतावनी छ । विष्टले जबर्जस्ती ल्याए उक्त कानुन अस्वीकार मात्र नगरी अवज्ञा गर्ने बताए।
ऐन ल्याउँदासमेत सरकारले सरोकारवालाहरूसँग कुनै छलफल नगरेकोमा पनि उनले आक्रोश पोखे । आमसञ्चार ऐन पनि प्रेसविरोधी आउन लागेको भन्दै सरकारले अहिले अपनाएको शैली र बाटो धेरै महँगो पर्ने पनि उनले चेतावनी दिए । ‘हामी दरबारसँग लडेर आएका हौं । हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ सीप छ’, विष्टले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us