सांसदलाई विभेद नगर्न सरकारको निर्देशन

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १४:३८ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – संसदीय समितिले बजेट विनियोजन र सञ्चालन प्रक्रियामा संघीय संसदका सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सरोकारको विषयमा तीन वटै तहका जनप्रतिनिधिसँग छलफल गरी शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा बजेट विनियोजन र सञ्चालन प्रक्रियामा सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देशन दिइएको उल्लेख गरिएको हो ।

बजेट विनियोजनमा पनि सांसदहरुमाथि विभेद नगर्न सरकारलाई निर्देशन दिइएकोलगायतका राष्ट्रिय सरोकारका विषय समेटिएको प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्षलाई बुझाइएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् । प्रतिवेदनमा निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदार कार्यक्रमसम्बन्धी विद्यमान कार्यविधि तत्काल परिमार्जन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

समितिको प्रतिवेदनमा संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक नीति, कानुन र मापदण्ड तय गर्न ढिलाई नगर्न पनि संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । प्रदेश र स्थानीय तहको काम समेत प्रभावित भएकाले तत्काल संघीयता कार्यान्वयनका लागि आवश्यक नीति, कानुन र मापदण्ड तय गर्न ढिलाई नगर्न संघीय सरकारलाई सचेत गराइएको पनि समितिकी सभापति थापाले बताइन् ।

समितिले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरी तयार पारेको सो प्रतिवेदनमा संघले नेतृत्वदायी र नियमनकारी, प्रदेशले संघ र स्थानीय तहबीच समन्वय र सहकार्य तथा स्थानीय तहले स्थानीय आवश्यक्तामा आधारमा योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ ।

समितिकी सभापति थापाले संघ, प्रदेश र स्थानीय तहको योजनासम्बन्धि मापदण्ड तत्काल बनाउन पनि संघीय सरकारलाई प्रतिवेदनमार्फत् निर्देश गरिएको बताइन् । प्रभाव र पहुँचका आधारमा नभई आवश्यक्ताका आधारमा संघ, प्रदेश र स्थानीय तहको योजना बनाउन पनि संघीय सरकारलाई प्रतिवेदनमार्फत् सचेत गराइएको पनि समितिले जनाएको छ ।

सातवटै प्रदेशका तीन वटै तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरी तयार पारिएको समितिको प्रतिवेदनले भूगोल र जनसंख्यालाई मुख्य आधार बनाएर स्रोत विनियोजन र वितरण गर्न पनि संघीय सरकारलाई सुझाव दिएको छ । समितिले तयार पारेको सो प्रतिवेदन बुझ्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यसको व्यापक छलफल गरी कार्यान्वयनका लागि सरकारलाई आवश्यक निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us