जथाभावी कर्मचारी भर्ना नगर्न मन्त्रालयको निर्देशन

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ११:२१ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी कर्मचारीको पदपूर्ति रोक्न स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय तहले आफूखुशी कर्मचारी नियुक्त गर्ने क्रम बढेपछि सामान्य प्रशासन मन्त्रालयले सो निर्देशन जारी गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा, स्थानीय तहबाट रिक्त पदमा स्थायी पदपूर्तिको लागि प्रक्रिया अगाडि बढाउने व्यवस्था कानुनमा नभएकाले कानून विपरीतका यस्ता विज्ञापन भए सो समेत बदर गर्न भनिएको छ ।

संविधानको धारा २२७ मा गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिका कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने छ भन्ने व्यवस्था छ ।

यस्तै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८६ को उपदफा ३ मा स्थानीय सेवाको स्थायी दरबन्दीको पदमा प्रदेश लोकसेवा आयोगले छनौट गरी सिफारिस गरेको उम्मेदवारलाई मात्र नियुक्ति गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us