ट्रम्पले गरे अर्को निर्णय, अमेरिका र इरानबीच युद्धको संकेत

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १२:३४ मा प्रकाशित

एजेन्सी । अमेरिका र इरानको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । इरानको परमाणुको विषयलाई लिएर यी दुई देशबीचको सम्बन्धमा थप जटिलता आएको छ ।

इरानले पछिल्लो समय अमेरिकी प्रतिबन्ध बेहोरिरहेको छ । उसले आफ्नो तेल अर्को कुनै देशलाई निर्यात गर्न पाएको छैन् । उक्त प्रतिबन्धलाई लिएर परमाणु सम्झौतासँग जोडिएका केही प्रतिबद्धताबाट बाहिरिने घोषणा गरेको इरानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दबाब सिर्जना गरेका छन् ।

उनले एक आदेश जारी गर्दै इरानको धातु उद्योगमा प्रतिबन्ध लगाइदिएका छन् । इरानले तेल र ग्यासपछि धातु सबैभन्दा बढी निर्यात गर्दै आएको छ । इरानका नेताहरूसँग मिलेर सम्झौतामा पुग्ने आशा व्यक्त गर्दै ट्रम्पले उक्त प्रतिबन्ध थपेका हुन् ।

इरानसँग परमाणु सम्झौतामा सामेल भएका पश्चिमी देश बेलायत, फ्रान्स र जर्मनीले इरानलाई परमाणु सम्झौताबाट बाहिर नजान चेतावनी दिएका छन् । उनीहरूले इरानलाई परमाणु सम्झौताबाट बाहिरिए गम्भीर परिणाम बेहोर्नुपर्ने भन्दै चेतावनी दिएका हुन् । पश्चिमा देशहरूले इरानलाई परमाणु सम्झौतामा अडिग रहन भनेका हुन् ।

उनीहरूले इरानले सम्झौताका सबै शर्त पालना गरिरहे आफूहरूले सहयोग गरिरहने बताएका हुन् । सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रम बन्द गर्ने भनिएको थियो । त्यसको बदलामा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने पनि भनिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us