
एजेन्सी । मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो ।
पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो ।
प्रहरीका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए । अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ ।
यस्तै, पीडितअनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।
यस्तै प्रहरीका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन् । प्रहरीले यसबारे अनुसन्धान थालिएको जानकारी दिएको छ ।