पेरुका प्रसिद्ध आरोहीको मकालु हिमालमा मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १६:०६ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको मकालु आरोहणका क्रममा मृत्यु भएको छ ।

हिदल्गोलाई बुधबार बिहान दोस्रो आधार शिविरमा मृत अवस्थामा भेटिएको उनको आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।

दोस्रो आधार शिविर ६ हजार ५ सय मिटरको उचाइमा पर्छ । बिना अक्सिजन तथा शेर्पाहरूको थोरै सहयोगमा उनी हिमालका आरोहण गर्ने कोसिसमा थिए। हिगाल्दो मंगलबार मात्रै आधार शिविरमा पुगेका थिए। राति ९ बजे उनी खाना खाएपछि सुत्ने भन्दै आरोहण दलका अन्य सदस्यहरुसँग छुट्टिएको सेभेन समिटले जनाएको छ। सो कम्पनी हिदल्गोको आरोहणको व्यवस्थापन गरेको थियो ।

बुधबार बिहान डोरी फिक्स गरेर फर्केपछि शेर्पाहरुले हिदल्गोलाई नदेखेपछि उनको टेन्टमा हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए । उनी ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल बिनाअक्सिजन आरोहण गर्ने योजनामा थिए । ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु विश्वको पाँचौँ अग्लो हिमाल हो ।

हिदल्गोले मंगलबार मात्रै आफू दोस्रो बेस क्याम्पबाट तेस्रो बेसक्याम्प जाने तयारीमा रहेको आफ्नो फेसबुक पेजमा लेखेका थिए । तेस्रो बेसक्याम्प ६ हजार ७ सय मिटरमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us