प्रधानमन्त्रीले कांग्रेसलाई होच्यायोः प्रकाशमान सिंह

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिन काग्रेसले संघर्ष गर्दै आएको दावी गरे ।

जागरण सभालाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै नेता सिंहले भने, ‘कम्युनिस्टहरु अरुले गरेका काम पनि आफूले गरेको भन्छन् । कांग्रेसले आफूले गरेको काम भन्दै नभनी थाहा पाइहाल्छन् नि भनेर बस्छन् । रुन पनि पाउँदैन भनेर शेरबहादुर देउवाले भन्दा मान्छेहरु नहुने कुरा भन्थे । अब त्यस्तै हुन लागेन ? पत्रकार पक्रेन ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै संसदमा विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउनु रहेको तर्क गरे । ‘प्रधानमन्त्रीले विपक्षीलाई होच्यायो । विपक्षीलाई होच्याउनु जनतामाथिको अपमान पनि हो । प्रधानमन्त्रीले जनतालाई अपमान गर्न पाउछन् ? यो त जनतालाई होच्याएको हो नि,’ उनले भने, ‘अब यसको सशक्त विरोधका लागि कांग्रेस सशक्त हुनुपर्छ । यसैका लागि जागरण अभियान हो ।’

विधिसम्मत चल्ने पार्टी भएकाले कम्युनिस्टलाई चेत गर्न तेरो मेरो भन्न छाड्नुपर्ने उनको धारणा थियो । उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आफ्नै पार्टीको नाम समेत स्थिर राख्न नसक्नेले देश स्थिर बनाउनै नसक्ने दाबी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us