समस्याको समाधान गर्न नसक्ने व्यक्ति राष्ट्रपति हुन सक्दैनः माइक पोम्पेओ

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १४:३३ मा प्रकाशित

एजेन्सी – अमेरिकाको सक्रेटरी अफ स्टेट माइक पोम्पेओले भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गर्नको लागि अमेरिकासँग धेरै विकल्प रहेको बताएका छन् । उनले कुटनीतिक, राजनीतिक र अन्य दवावमूलक विकल्पका साथसाथै सैन्य कारबाहीको विकल्प पनि खुल्ला रहेको बताए ।

‘हामी मदुरोको वहिरगमनको तयारी गरिरहेका छौं । यसका लागि जुन रणनीति उपयुक्त हुन्छ त्यही अवलम्बन गर्नेछौं,’ पोम्पेओले एबीसीको ‘द वीक’ कार्यक्रममा भने । आइतबार प्रसारण भएको अन्तरावार्तामा उनले मदुरो कति दिन, हप्ता वा महिनामा अपदस्थ हुने अहिले नै अनुमान गर्न नसकिने बताए । बहिरगमनको निश्चित मिति भन्न नसके पनि उनी लामो समय सत्तामा नरहने पोम्पेओले बताए ।

‘भेनेजुयलामा भयावह गरिबी, ठूलो भोकमरी, औषधी बिनाका विरामी बालबालिका छन्,’ पोम्पेओले भने ,‘यस्तो अवस्था समाधान गर्न नसक्ने व्यक्ति भेनेजुयलाका भविष्यको हिस्सा हुन सक्दैन ।’

एबीसीसँगको कुराकानीका क्रममा पोम्पेओले भेनेजुयालका विपक्षी नेता हुआँ ग्वाइदोको सफलतालाई लिएर अमेरिकी गुप्चतर असफलता नभोगेको दावी गरे । फक्स न्युजलाई दिएको अर्को एक अन्तरवार्तामा उनले भने, ‘यस्ता कुराले कहिलेकाहीँ समय लिन्छ ।’

पोम्पेओले क्युवाले समर्थन नदिने हो भने मदुरो सत्तामा रहन नसक्ने बताए । त्यस्तै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारबीच भेनेजुयलामा कारबाही गर्ने कुरामा फरक धारणा रहेको भन्ने विश्वासको पनि खण्डन गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us