काठमाण्डुमा हैजा भेटियो

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – काठमाण्डुमा हैजाका बिरामी भेटिएका छन् । ताहाचलका ४१ वर्षीय पुरुषमा हैजा भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

अस्पतालका अनुसार यो वर्ष समय अघि नै हैजाका बिरामी भेटिएको हो । सामान्यतया हैजा बर्खा सुरु भएपछि साउन महिनापछि देखा पर्ने गरेकोमा यो वर्ष वैशाखको मध्यमै देखिएको हो । हैजा लागेपछि पातलो दिसा हुने र बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या देखिन सक्ने डाक्टरले बताएका छन् ।

हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराएर आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ ।

शरिरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताए ।

विचार नपुर्याउँदा ज्यानै जान सक्ने भन्दै खानपानमा ख्याल गर्न उनको सुझाव छ । राम्रोसँग नपाकेको खानाले पनि हैजा हुने भएकाले निर्मलीकरण गरिएको वा उमालेको पानी मात्र पिउने, सडेगलेका खानेकुरा नखाने गर्नाले पनि हैजा लाग्नबाट बच्न सकिने डाक्टर पुनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us