
काठमाण्डु, २४ वैशाख – संघीय संसदका दुबै सदनले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले आज पारित गर्ने कार्यसूची बनाएका हुन् ।
संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले छलफलको क्रम नसकिए प्रधानमन्त्रीको जवाफ र पारितको कार्यसूची भोलीका लागि सार्ने बताए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको दिउँसो एक बजेका लागि बोलाईएको छ । छलफलमा भाग लिन नाम टिपाएका सांसदहरुले आजपनि नीति तथा कार्यक्रममाथि धारणा राख्नेछन् ।
महासचिव भट्टराईकाअनुसार, पर्सि शुक्रबारबाट प्रि–बजेटमाथिको छलफल सुरु हुनेछ । सरकारले प्रि–बजेटमाथि छलफल नगराई नीति तथा कार्यक्रम ल्याएर संसदलाई छल्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति जनाउदै आएको थियो ।