
काठमाण्डु, २३ बैशाख – विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरिएको छ ।
नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो ।
सीजीले वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनु पर्ने मागसहितको पत्र अर्थमन्त्रालयको राजस्व सचिवलाई पठाएको छ ।
पत्रमा भनिएको छ, ‘गत वर्षको बजेट वक्तव्यका साथ प्रस्तुत भएको आर्थिक विधेयकमा भएको संशोधनले नेपालमा रहेको टेलिभिजन उद्योगहरु बाँच्न नसक्ने अवस्था सृजना गरेको छ । विदेशबाट पैठारी हुने तयारी टेलिभिजन र नेपालमा उत्पादन हुने टिभीमा लाग्ने समस्टि राजस्वमा खासै फरक नभएकाले नेपाली उद्योग बन्द हुने अवस्था आएको छ । हजारौको रोजगारी पनि अन्त्य हुने अवस्था सृजना भएको छ ।’
नेपालमा नै उत्पादन हुने टेलिभिजन तथा घरायसी रुपमा प्रयोग हुने वस्तुहरुलाई कर छुट हुने ड्युटी फ्रि पसल राखी सो पसलमाफर्त सामान खरिद गराउनुपर्ने उनीहरुको माग छ ।