
काठमाण्डु, २३ बैशाख – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज (सोमबार)अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बेलायतका राजदूत मोरिसले शिष्टाचार भेटघाट गरेका हुन् ।
उपराष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो र जनस्तरसम्म फैलिएको बताए । ‘दुई देशबीचको औपचारिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगेको छ । विशिष्ट प्रकारको हाम्रो सम्बन्ध अहिले जनस्तरसम्म फैलिएर प्रगाढ बनेको छ,’ उनले भने ।
उपराष्ट्रपतिले आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको योगदान रहेको बताए । उनले गोरखा सैनिकका उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गरे ।
‘आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको ठूलो योगदान छ । गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागत योग्य छ,’ उपराष्ट्रपतिले भने, ‘गोरखा सैनिकका बाँकी उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने हाम्रो विश्वास छ ।’
उपराष्ट्रपतिले भेटमा बेलायत नेपालको ठूलो विकास साझेदार मुलुक भएको बताए । उनले नेपाल भ्रमण गर्ने बेलायतीहरुको संख्या बढिरहेको भन्दै भ्रमण वर्ष २०२० मा अझै थपिने अपेक्षा गरे । उनले नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै बेलायती व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहन गरिदिन आग्रह गरे ।
उपराष्ट्रपतिसँगको भेटमा बेलायती राजदूत मोरिसले नेपाल बेलायतको घनिष्ठ मित्र राष्ट्र भएको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सहयोग गर्न बेलायत सधै तयार रहेको बताए । उनले समृद्ध नेपाल, सुखी नेपालीका लागि बेलायती युवा व्यवसायीहरुले नेपालमा लगानी गर्न चाहिरहेको उल्लेख गर्दै दुई देशका युवा व्यवसायीहरुबीच अन्तरक्रिया गराउनुपर्ने बताए ।