सिंहदरबार कब्जा गर्छौं, सातै प्रदेशमा हाम्रै सरकार बनाउँछौंः लालबाबु राउत

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – नवगठित समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले सातै प्रदेशमा आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् ।

आज काठमाण्डुमा आयोजित पार्टी घोषणा कार्यक्रममा राउतले समाजवादी पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउने उद्घोष गरे ।

‘हिमाल, पहाड र तराईका उपेक्षित, उत्पीडित, आदिवासी जनताको साँचो पार्टी बनाउँछौं । अब देशको मुख्य शक्ति बन्छौं । मुद्दा, विचार, दृष्टिकोण, नेतृत्व सही छ । यसलाई एक नम्बरको पार्टी बनाउँछौँ,’ उनले भने ।

मुख्यमन्त्री राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने बताए । उनले पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको बताए ।

पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उनले दाबी गरे।

कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उनले चुनौती दिए ।

अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उनले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us