बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पहिलो बन्छः दमननाथ ढुंगाना

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १४:११ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – पूर्वसभामुख एवं नेपाली कांग्रेस नेता दमननाथ ढुंगानाले नवगठित समाजवादी पार्टी नेपालले नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकताले राजनीतिमा आशाको नयाँ सञ्चार गराएको बताएका छन् ।

राजनीति गर्नेहरूको छवि राम्रो नभएको अवस्थामा समाजवादी पार्टीका नेताहरू फरक रहने उनले विश्वास गरे ।

‘आज राष्ट्रले जस्तो पार्टी चाहेको छ, राष्ट्रिय भावना एकीकरण गर्ने पार्टी चाहिएको छ । राष्ट्रिय एकीकरणको दिनको रुपमा लिएको छु,’ दमनले भने, ‘यो पार्टी राष्ट्रिय पार्टी हो । तपाईंको पार्टीमा केही गरौं भन्ने नेताहरू हुनुहुन्छ ।’

दमनले दूरदृष्टि राख्ने पार्टी निर्माण शुरू भएको भन्दै आगामी निर्वाचनमा नयाँ पार्टीले सरकारको नेतृत्व गर्न सक्ने भन्दै शुभकामना व्यक्त गरे । ढुंगाना गत प्रतिनिधिसभा निर्वाचनमा ढुंगाना भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार थिए ।

‘आज हामी इतिहास निर्माण गर्दैछौं, जमाना राष्ट्रिय आवश्यकता बदलिन्छ । आज देशको अभाव पूर्ति गर्ने पार्टीको एकीकरण भएको छ,’ ढुंगानाले भने, ‘म पनि उत्साही भएको छु । हिमाल, पहाड, दलित र सबै पिछडिएका जनताको जीत हो ।’

पार्टीहरुमा आचरणको अभाव देखिएको भन्दै नयाँ पार्टी भ्रष्टाचार र देश दोहनबाट मुक्त बनोस् भन्ने शुभकामना दिए । ‘उपेन्द्र र बाबुरामले इतिहास बदल्नुभयो । आज इतिहास बदलेको दिन हो । समाजवादी पार्टी अब देशको एक नम्बर पार्टी बन्नेछ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us