बाबुरामलाई देवेन्द्रले दिए अग्रिम बधाई

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – नेकपाका नेता देवेन्द्र पौडेलले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच हुन लागको पार्टी एकता मुलुकका लागि सकारात्मक संकेत भएको बताएका छन् ।


पौडेल यसअघि डा. भट्टराइसँग नजिक भएर काम गरेका नेता भनेर चिनिन्छन् । नेता पौडेलले नयाँ शक्तिका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको एकता बामपन्थी पृष्ठभूमी र गैर बामपन्थी पृष्ठभूमि र सोँच भएको नेताबीचको एकता भएको बताए ।

‘उहाँहरु दुवैजना मार्क्सवाद, लेलिनवादबाट प्रशिक्षित हुनुहुन्छ । खासगरी बाबुरामजी राजनीतिका साथै बौद्धिक क्षमता र विकास निर्माणबारेमा पनि जानकार हुनुहुन्छ । उपेन्द्रजी मधेशमा जन्मेर सिङ्गो देश, राष्ट्रियता, सार्वभौमिकता र सबै जातजाती, वर्ग, समुदायको पक्षमा निखारतापूर्वक उभिएको बौद्धिक व्यक्तित्व हुनुहुन्छ,’ पौडेलले भने, ‘त्यसकारण उहाँहरुको सोच परम्परागत वामपन्थी पृष्ठभूमि विचार र दृष्टिकोणको पक्षमामात्रै भएको देखिँदैन । नेपाली विषेशताको समाजवादी प्रणाली निर्माण गर्ने सोचमा उहाँहरुको समान दृष्टिकोण भएको मैले पाउँछु ।’

नेता पौडेलले संघीयताको सवालमा पनि डा. भट्टराई र यादवबीच समान धारणा रहेको आफुले पाएको बताए । उनले संगठनात्मक विषयमा पनि आकस्मिकतामा सोच्ने, एउटा टिम बनाएर अगाडि बढ्ने जस्ता दृष्टिकोण दुवै नेतामा भएको बताए ।

‘उनीहरु दुवैमा दार्शनिक र वैचारिक दृष्टि पाइन्छ । भैरहेको परिस्थितिभन्दा अलिकति अगाडि बढ्न पाए हुन्थ्यो भन्ने सोँच रहेको,’ भन्दै उनीहरु दुवैमा संसारका परम्परागत सिद्धान्तका पक्षभन्दा फरक प्रकारले सोच्न पाए हुन्थ्यो भन्ने सोँच आफुले पाउने गरेको बताए ।

उनले अहिले उनीहरुको पार्टी फरक भएपनि उनीहरुमा वामपन्थी लिगेसी कायमै रहेको पनि बताए । ‘त्यो सोच र दृष्टिकोणहरु व्यवहारमा व्यक्त हुन्छन्’ पौडेलले बताए ।

उनले दिगो एकताबारे टिप्पणी गर्नु हतार हुने भन्दै उनीहरुले पार्टी एकता गरेर अगाडि बढ्न गरेको प्रतिवद्धता र विश्वासप्रति अग्रिम शुभकामना रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us