काठमाण्डु, २३ वैशाख – नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम सतही भाषण मात्रै भएको टिप्पणी गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले महत्वाकांक्षी, अस्पष्ट, अमूर्त र कामभन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रित भएर भाषण र सतहीरूपमा नीति तथा कार्यक्रम आएको बताए ।
ठूलोठूलो आयोजनाको कुरा गरे पनि त्यसको ठोस कार्यक्रम नभएको भन्दै उनले हचुवाको भरमा सरकारले नीति तथा कार्यक्रम ल्याएको दाबी गरे । सरकारले जनताको सरकार अर्थात् नेपालको सरकारलाई मेरो सरकार भन्न लगाएर राष्ट्रपतिलाई विवादमा तान्ने र गणतन्त्रलाई उपहास गर्ने काम गरेको आरोप लगाए ।
२ सय १८ बुँदामा आएको सरकारको नीति तथा कार्यक्रममा युरिनियमदेखि रेलसम्मका छरपस्ट आयोजना घोषणा गरिएको बताए । उनले गत वर्षको १०३ बुँदे नीति तथा कार्यक्रममा प्रस्तुत भएको कार्यक्रम कति पूरा हुन सक्यो भन्ने विश्लेषण हुनुपर्ने तर्क गरे ।
सत्तारूढ दल नेकपाका सांसद कृष्णभक्त पोख्रेलले नीति तथा कार्यक्रम तिथिमितिसहित वस्तुनिष्ठ र वैज्ञानिक ढंगबाट ल्याइएको भन्दै सरकारको बचाउ गरे । राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने, संघीय संसद भवन निर्माण, सार्वजनिक जग्गा फिर्ता लगायतका अत्यन्तै राम्रा कार्यक्रम समयसीमासहित आएको भन्दै उनले अब कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।