चीनलाई ट्रम्पले दिए यस्तो चेतावनी

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १०:३७ मा प्रकाशित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले करिब दुई सय अर्ब डलरको चीनियाँ वस्तुमा लाग्ने आयात करलाई यसै हप्तादेखि बढाउने बताएका छन् ।

उनले अमेरिका र चीनबीचको व्यापार सम्झौताको विषयमा चलिरहेको कुराकानी अत्यधिक सुस्त गतीमा अघि बढिरहेको पनि जानकारी दिएका छन् ।

ट्रम्पले आइतबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘विगत १० महिनादेखि चीनले ५० अर्ब डलरको वस्तुमा अमेरिकालाई २५ प्रतिशत र दुई सय अर्ब डलरको वस्तुमा १० प्रतिशत ट्यारिफ लागू गरिरहेको थियो ।

हाम्रो अर्थव्यवस्थाको राम्रो प्रदर्शनका लागि यो पैसा निकै महत्वपूर्ण छ । त्यसकारण शुक्रबारदेखि १० प्रतिशतलाई बढाएर २५ प्रतिशत गरिनेछ ।’

ट्रम्प भन्छन्, ‘चीनबाट ३२५ अर्ब डलरको थप सामान पनि आएको छ जसमा आयात कर लगाइएको छैन तर यसमाथि पनि चाँडै नै २५ प्रतिशतको आयात कर लगाइनेछ । चीनियाँ वस्तुमाथि लगाइएको करको असर मूल्यमा पर्ने छैन । चीनसँग व्यापार सम्झौताबारे छलफल चलिरहेको छ तर यो निकै सुस्त रुपमा अघि बढिरहेको छ । उनीहरु पुनः कुराकानीका लागि कोसिस गरिरहेका छन् ।’

यसअघि यसवर्षको सुरुवातमा ट्रम्पले चीनसँगको कुराकानी जारी रहेकाले आयात करमा वृद्धि गर्न अस्विकार गरेका थिए ।

चीनका भाइस प्रिमियर लियु हि यसै हप्ता कुराकानी अघि बढाउन अमेरिका जाने तयारीमा छन् । ट्रम्पको यो कदमले चीनमाथि दबाब बढ्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us