श्रीलंकाले ६०० विदेशी नागरिकलाई देश निकाला गर्यो

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १७:३९ मा प्रकाशित

एजेन्सी – श्रीलंकाले २०० मुसलमानी धर्मगुरुसहित ६०० जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।

ईस्टरमा भएका आत्मघाती आक्रमणमा स्थानीय जिहादी समूहको संलग्नता रहेको पाइएपछि उनीहरूलाई निकालिएको एक मन्त्रीले एएफपी समाचार संस्थालाई बताए ।

गृहमन्त्री वजीरा अबेवर्देनाले यी धर्मगुरुहरू देशमा अवैध तरिकाले प्रवेश गरेको तर सुरक्षा कारवाहीका क्रममा उनीहरूको प्रवेशाज्ञा हेर्दा म्याद गुज्रिसकेको बताए । उनीहरूमाथि जरिवाना लगाएर पछि उनीहरूलाई श्रीलंकाबाट निकालिएको उनले बताए ।

‘देशको अहिलेको परिस्थिति हेरेर हामीले प्रवेशाज्ञा प्रणालीको समीक्षा गरेका छौं र धर्मगुरुमाथि प्रवेशाज्ञामा कडाइ गर्ने भएका छौं,’ अबेवर्देनाले भने, ‘निष्काशन गरिएमध्ये २०० जना इस्लामी प्रचारक थिए ।’

ईस्टर सन्डेमा भएका शृंखलाबद्ध आक्रमणमा २५७ जना मारिएका थिए र लगभग ५०० जना घाइते भएका थिए । उक्त आक्रमणको नेतृत्व स्थानीय धर्मगुरुले गरेको मानिएको छ । उनी भारत गएर त्यहाँ रहेका जिहादीहरूसँग सम्पर्कमा रहेको ठानिएको छ ।

मन्त्रीले निष्काशित व्यक्तिहरूको राष्ट्रियता खुलाएका छैनन् तर प्रहरीले ईस्टर आक्रमणपछि प्रवेशाज्ञाको म्याद गुज्रे पनि बसिरहेका धेरैजसो विदेशी बंगलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका मानिस भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us