उपेन्द्रले सरकार नछाेड्ने, बाबुराम भट्टराई सत्तापक्ष !

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – संघीय समाजवादी फोरम पार्टी नेपालले तत्कालै सरकार नछाड्ने भएको छ । नयाँ शक्ति पार्टी, नेपालसँग भोली(सोमबार) पार्टी एकता घोषणा हुँदैछ । तर, फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट बाहिरिने मनस्थिति बनाएका छैनन् ।

सरकारले आफूहरुसँगको दुई बुँदे माग पूरा नगरेकाले तत्काल सरकारबाट नबाहिरिने फोरमका एक जना नेताले बताए । बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी पार्टीबीच लामो समयको कसरतपछि एकीकरण गर्ने सहमती भएकेा थियाे ।

फोरमका एक नेताले भने, ‘बाबुरामजीसँग तत्काल सरकारबाट बाहिरिने सहमति भएको छैन् । सरकारमै बसेर हाम्रा माग पूरा गर्नेछौं । ’

भोली हुने एकतामा उपेन्द्रले मन्त्रीको हैसियतले सरकारलाई चेतावनी दिने बताइएको छ । साथै फोरमसँग एकीकरण गर्न लागेका बाबुराम पनि स्वतः सत्तापक्ष बन्नेछन् । भोलि समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारीको घोषणा हुनेछ ।

फोरमबाट १६ जना पदाधिकारी रहनेछ जसमा हाल एउटा पद खाली रहेको छ । यसैगरी नयाँ शक्तिबाट ९ जना पदाधिकारी रहनेछन् ।

वरीयता क्रममा डा. भट्टराई पहिलो रहने छन् भने यादव दोस्रो । पार्टीको अध्यक्षको रुपमा यादव रहने छन् भने संघीय परिषद्को अध्यक्ष भट्टराई रहनेछन् । संघीय परिषद् केन्द्रीय समितिभन्दा पनि शक्तिशाली हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us