
काठमाण्डु, २२ वैशाख – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।
वरिष्ठ नेता पौडेलले कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको बताए ।
आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ । नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको दोहोर्याए ।
कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिलेसंघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले संक्रमणकालका बाँकी कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दाबी गरे ।
निधीले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दाबी गरे ।