सेनालाई विकास निर्माणका काममा लगाउन हुँदैनः राजपा सांसद

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय जनता पार्टी(राजपा) नेपालकी सांसद चन्दा चौधरीले विकास निर्माणका हरेक काममा सेनालाई लगाउन नहुने बताएकी छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै राजपा महामन्त्रीसमेत रहेकी चौधरीले सेनामाथि सबै काम थोपर्न नहुने बताएकी हुन् ।

‘यदि सबै काम सेनाले गर्ने हो भने देशमा संघीयताको के अर्थ रहन्छ रु स्थाीय सरकार, प्रदेश सरकार र संघीय सरकारको के काम ?’, उनले प्रश्न गरिन्, ‘यसको विकल्पमा एउटा स्वायत्त प्राधिकरण बनाऊँ, जसलाई दीर्घकालिन योजनासहित सक्रिय गराऊँ ।’

विभिन्न समय र स्थानमा आएका प्राकृतिक विपत्तिपछिको पुनःनिर्माणको काममा सेनाको मात्रै भर पर्दा सरकारको औचित्य सकिने उनले बताइन् ।

‘फास्ट ट्रयाक बनाउने सेना, जनताको आवास बनाउने सेना, सडक बनाउने सेना’, उनले भनिन्, ‘सेनालाई सबै सुम्पिने हो भने स्थानीय, प्रदेश र संघीय सरकारको के काम भयो त ? त्यसैले स्वायत प्राधिकरणको निर्माण गरौँ ।’

प्राकृतिक बिपद्सँग जुध्न दीर्घकालिन नीति बनाउनुपर्नेमा उनले जोड दिइन् । ‘हरेक कुरा सेनामाथि थुपार्नु हुँदैन । सरकाले प्रदेश र स्थानीय सरकारलाई अविश्वास गरेको देखियो’, उनले भनिन्, ‘हरेक कुरा सेना दिनु हुँदैन । के सरकार कमजोर भएकै हो र ? सबै कामको जिम्मा सेनालाई मात्रै थुपार्न ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us