बाजुरामा भाइरल ज्वरोले लियो एक जनाको ज्यान

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १०:२५ मा प्रकाशित

बाजुरा, २२ वैशाख – जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ ।

भाइरल ज्वरोका कारण एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको छन् । मृतक बुढाको गत १८ गते मृत्यु भएको हो ।

हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले जानकारी दिए ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ ।

रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us