
काठमाण्डु, २० वैशाख– सरकारले राजधानी काठमाण्डु छिर्ने मुख्य नाकाहरुमा आफैंले गाडी धोइदिने भएको छ ।
राजधानीका सडक सफा राख्न सरकार आफैंले गाडी धोइदिने व्यवस्था मिलाउने घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा गाडी धोइदिने उल्लेख छ ।
राजधानीका सडक माटोरहित बनाउन गाडी सफा गर्ने सरकारको योजना छ । ‘सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाण्डु उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाण्डु उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ’, नीति तथा कार्यक्रम उल्लेख छ ।