
काठमाण्डु, २० वैशाख– सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेका केही शब्दका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
राष्ट्रपतिले सम्बोधनको सुरुमै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ भनेकी थिइन् । ‘माननीय सभामुख, माननीय राष्ट्रियसभाका अध्यक्ष, माननीय सदस्यहरु’, राष्ट्रपतिले भनेकी थिइन् । राजतन्त्रको अन्त्यपछि संसदमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले सभामुखलाई सम्माननीय शब्दले सम्बोधन गर्ने प्रचलन रहँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीशलाई सम्माननीय सम्बोधन गरिन्छ । तर, राष्ट्रपतिले सभामुख र अध्यक्षलाई माननीय भनिदिइन् । यसअघि पनि सभामुखलाई माननीय भनेकामा उनको आलोचना भएको थियो । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले सभामुखलाई सम्माननीय भन्ने गर्थे ।
यस्तै राष्ट्रपति भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा पनि सामाजिक सञ्जाल तातिएको छ । सरकारले तयार पारेर प्रधानमन्त्रीले राष्ट्रपतिले बाचन गर्न दिएको नीति कार्यक्रममा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ‘सम्माननीय’ शब्दले सम्बोधन गरिएको छ । तर, राष्ट्रपतिले आफूखुसी माननीय पढिदिँदा सरकारकै आलोचना भएको छ ।