
काठमाण्डु, २० वैशाख – सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आथिर्क वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
सरकारले आगामी वर्षभित्र नेपालका पेट्रो तथा सुन खानीको अध्ययन सुरु गरेर उत्खन्न सुरु गर्ने घोषणा पनि गरेको छ ।
केही वर्ष अघि नै नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परिसकेको छ ।
पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको पुष्टि भइसकेको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी छ ।
वि.सं. ०६८ सालमा कोइलाखानीका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।