
एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जयासिन्डा आर्डर्नले इंगेजमेन्ट गरेकी छन् । लामो समयदेखि प्रेमी रहँदै आएका कार्ल्क गेफोर्डसँग उनले इंगेजमेन्ट गरेकी हुन् ।
शुक्रबार एक समारोहमा प्रधानमन्त्री आर्डर्नको औंलामा हिराको औंठी देखेपछि धेरैले चासो राखेका थिए । यो चासो पुष्टि गर्दै आर्डर्नका प्रवक्ताले उनीहरूको इस्टर पर्वमा इंगेजमेन्ट भएको बताएका बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री आर्डर्न र गेफोर्ड केही समयदेखि सँगै बस्दै आएका छन् । गेफोर्ड टिभी कार्यक्रम प्रस्तोता हुन् ।
गत वर्ष मात्र आर्डनले छोरी जन्माएकी थिइन् । उनको नाम नेभ ते अरोहा हो । प्रधानमन्त्री हुँदै बच्चा जन्माउने आर्डर्न दोस्रो व्यक्ति हुन् । पहिलो व्यक्ति पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टो हुन् ।
‘म आफूलाई निकै भाग्यमानी ठान्छु,’ उनले भनेकी थिइन्, ‘मेरो साथमा यस्ता साथी छन्, जो मसँगसँगै हुन्छन् । जसले हाम्रो सन्तानको जिम्मेवारीमा ठूलो भूमिका खेलिरहेका छन् । उनी बच्चा हेर्न बसेका मान्छे होइनन् । बुबाका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न बसेका हुन् ।’
सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री आर्डन र गेफोर्डको सन् २०१२ मा एउटा कार्यक्रमबीच भेट भएको थियो ।