
नेपालगन्ज, २० बैशाख – बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । अहिले काठमाण्डु उपत्यकासहित नेपालको मध्य तथा पश्चिम भागमा हावाहुरीसहित बर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । महाशाखाको रेकर्ड अनुसार २४ घन्टायता भैरहवामा सबैभन्दा धेरै पानी परेको छ ।
भैरहवामा ४३.० मिलिमिटर पानी परेको छ । नेपालगन्जमा २२ मिलिमिटर पानी परेको छ । गत २४ घन्टामा सबैभन्दा कम पानी दाङमा परेको छ ।
दाङमा दुई मिलीमिटर पानी परेको छ । यस्तै २४ घन्टामा नेपालगन्जको तापक्रम सबैभन्दा धेरै रहेको छ ।
शुक्रबार बिहान ८ बजेसम्म नेपालगन्जको अधिकतम तापक्रम ४३ रहेको थियो । देशका पूर्वी क्षेत्रमा तुलनात्मक रुपमा फानीको प्रभाव बढी हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । फानीको प्रभाव भोलीसम्म रहेर आइतबारदेखि मौसम खुल्ने महाशाखाले जनाएको छ ।