पर्यटन विभागले भन्योः माैसम खराब छ, पर्यटकलाई सुरक्षित राख्नू

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १२:१४ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – अचानक मौसम बदली भई हावाहुरी र चट्याङको भय बढेपछि नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्याउन पर्यटन विभागले सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

विभागको होटल तथा पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले विज्ञप्ती जारी गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड र तराईमा वर्षा र हावाहुरीको भय बढेको तथा जल तथा मौसम विज्ञान विभागले पूर्वानुमानसमेत गरेकाले सावधानी अपनाउन निर्देशन दिएकी हुन् ।

‘नेपाल सरकार, जल तथा मौसम विज्ञान विभागका साथै विभिन्न देशका मौसदविद् समेतले आगामी केही दिनको मौसम असामान्य रहने, हिमाली क्षेत्रमा भारि हिमपात हुन सक्ने साथै पहाडी र तराई क्षेत्रमा भारि वर्षा तथा हावाहुरी आउने पूर्वानुमान गरेकोले विभागको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहनु भएका तथा पर्वतारोहका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानु भएका पर्यटक तथा पर्यटक व्यवस्थापन गर्ने एजेन्सीहरूले स्थानीय मौसको ख्याल गरी आफू र आफ्ना पर्यटकालाई सुरक्षित स्थानमा राख्ने तथा कुनै क्षति हुन नदिने प्रबन्ध गर्नु गराउनु भई नेपालको पर्यटन क्षेत्र सुक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुने अनुरोध छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us