
काठमाण्डु, १९ वैशाख – सरकारले इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ । बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले नियमित सावुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा पंक्षीबाट टाढा रहने, कुखुराको मासु राम्ररी पकाएर खानेलगायतका सावधानी अपनाइए यो रोगबाट बच्न सकिने बताए ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको सावजनिक गरेको थियो । बर्ड फ्लूबाट काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको हो । उनको पहिचान खुलाइएको छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।
बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा कर्णले जानकारी दिए । उनले परिवारलाई भेटेपछि उनको मृत्यु भएको थाहा पाएको बताए ।