भारतमा शक्तिशाली चक्रवात फानी, सतर्क रहन महाशाखाकाे आग्रह

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १०:११ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – अबको तीन दिन देशका धेरैजसो भूभागमा मौसम बदली भई हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चक्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुने मौसमविद् मञ्जु बासीले बताइन् ।

फानीको प्रभावले हावाहुरीसहित चट्याङ र वर्षा हुने अनुमान मौसमविद्को छ । हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने बासीले बताइन् ।

मौसमविद् बासीका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको छ । यसले भारतमा भने धेरै असर गर्ने अनुमान नेपालका मौसमविद्को छ ।

त्यस्तै पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ ।

यस्तै केही ठाउँमा असिना पनि पर्ने उनको अनुमान छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

शुक्रबार अपरान्हपछि नेपालमा पनि यसको असर देखिन सक्ने भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको कारण बिहीबार साँझदेखि शुक्रबार दिनभरी जसो नै नेपालको पश्चिम र मध्य क्षेत्रको मौसम बदली हुने छ । कतिपय ठाउँमा मेघगर्जन र हावाहुरीसहित बर्षा हुनेछ ।

बुधबार साँझ स्थानीय वायुको प्रभावले काठमाण्डु उपत्यकासहित तराई क्षेत्रमा हावाहुरीसहित सामान्य वर्षा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us