मजदुर दिवसकै दिन मजदुरको ज्यान गयो

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १६:४३ मा प्रकाशित

म्याग्दी, १८ वैशाख – आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । देशैभरि मजदुरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ ।

ज्यान जानेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीय कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले एक्स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us