अमेरिकाको विश्वविद्यालयमा विद्यार्थीले गोली चलाउँदा…

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १५:४२ मा प्रकाशित

एजेन्सी – अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको शार्लोट परिसरमा मंगलवार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । विश्वविद्यालयको संकट व्यवस्थापन कार्यालयले ट्वीट गरेर सबैलाई यसको बारेमा सचेत गराएको छ ।

शैक्षिक सत्रको अन्तिम दिन कक्षा सकिनुभन्दा ठीक अघि बेलुका ६ बजेतिर गोलीकाण्ड भएको थियो । विभागले ट्वीट गर्दै भन्यो, ‘भाग, लुक । आफूलाई तुरुन्त सुरक्षित गर ।’

स्थानीय संकटकालीन सेवाहरूले दुई जनाको मृत्यु भएको र दुई जनाको स्थिति गम्भीर रहेको बताएको छ । अन्य दुई जनाको स्थिति सामान्य छ ।

गोली चलाउने व्यक्ति २२ वर्षीय विद्यार्थी भएको बताइएको छ । विद्यार्थीलाई हिरासतमा लिइएको छ । शार्लोटका मेयर भी लिलिजले घटनाप्रति शोक व्यक्त गरेर पीडित परिवारप्रति संवेदना व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us