
काठमाण्डु, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् ।
मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘विगतका सरकारले कल्पना नगरेको काम भएको छ । यो एक वर्षमा मानिस विदेश गएका हुन् र ? मैले गरिब बनाएको हो र ?’ नयाँ प्रणाली भएकाले केही समस्या भएको उनको भनाइ थियो ।
सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप उनले लगाए । सरकारलाई समर्थन फिर्ता गर्ने होइन, समर्थन गर्न उनले आग्रह गरे । ‘राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमाना नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?’ जायजलाई जायज भन्न नसक्ने, आलोचना गर्ने रोग केहीलाई लागेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले श्रमिक नै देशका भाग्य निर्माता भएको तर उनीहरु नै देश छाडेर हिँड्नुपरेको बताए ।
‘सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँछ, देशका उद्योगधन्दा कलकारखाना बन्द भइसके । बहुराष्ट्रिय कम्पनी मुलुक छाडेर भाग्दैछन् । उद्योगधन्दा खोल्नूस्, मुलुक छाडेर बाहिरिएका श्रमिक फर्काउनूस्,’ महतोले भने, ‘नाराले मुलुक बन्दैन प्रधानमन्त्रीजी ?’