अन्तर्राष्ट्रिय श्रमिक दिवसमा भीभीआईपीको शुभकामना, कसले के भने ?

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भीभीआईपीहरुले शुभकामना व्यक्त गरेका छन् ।

कसले के भने ?

श्रम क्षेत्रको सुधारमा सरोकार पक्ष केन्द्रित हुनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गरेकी छन् ।

विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, नयाँ श्रम ऐन र रोजगारीको हकसम्बन्धी ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउने उल्लेख छ ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास लिएको छु । सुदृढ अर्थतन्त्रको मेरुदण्ड र समाजवादउन्मुख अर्थ व्यवस्थाको आधारस्तम्भ श्रमिक मजदुर भएको प्रसङ्गमा सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ ।’

स्वदेशमै रोजीरोटीको प्रबन्ध हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेको उनले सन्देशमा उल्लेख गरेका छन् । यही क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार पारेको स्मरण गराउँदै उनले पूर्व प्रतिवद्धताअनुरुप नै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने प्रतिबद्धता दोहोर्‍याएका छन् । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो ।

देशभित्र रोजगारी सिर्जना गर्ने काममा पनि सरकारले गम्भीरतापूर्वक काम गरेको प्रधानमन्त्रीको भनाइ छ । देशभित्र रोजगारी सिर्जना गर्ने उद्देश्यकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना हुने बताए ।

श्रमिकको सुरक्षा गर्न नेकपा सरकार प्रतिवद्धः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको उल्लेख गरेका छन् ।

‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’, प्रचण्डले जारी शुभकामना सन्देशमा लेखेका छन् ।

देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता भएको प्रचण्डको मत छ । यसका लागि उनले नेपाली श्रमिक वर्ग एकतावद्ध भएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

श्रमिककाे हकका लागि श्रम ऐन बन्दैछः सभामुख

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सभामुख कृष्णबहादुर महराले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ भन्दै महराले संविधानको मर्मअनुसार संघीय संसदमा अहिले केही श्रमसम्बन्धी ऐन कानूनहरु निर्माणका क्रममा रहेको अवस्थामा रहेको श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्माण गर्नुका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरहरुले अधिकार प्राप्त गर्नेछन् भन्ने मैले विश्वास लिएको बताएका छन् ।

मजदुर दिवसमा देउवाले सम्झे विपी कोइराला

कांग्रेस सभापति शेरबहादुर देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा देउवाले विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गरेका छन् ।

‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो’, देउवाले कांग्रेस नेतृत्वको मजदुर आन्दोलनको प्रशंसा गर्दै लेखेका छन् ।

२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको स्मरण पनि देउवाले आफ्नो शुभकामना सन्देशमा गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us