खुलामञ्च अतिक्रमण प्रकरणः सह–सचिव रुद्रसिंह तामाङ अनुसन्धानको घेरामा

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते २१:५० मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– संघीय मामिला मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङ खुलामञ्च अतिक्रमण प्रकरणमा तानिने भएका छन् ।

अख्तियार अनुसन्धान आयोगले सुरु गरेको अनुसन्धानका क्रममा तामाङ अनुसन्धान घेरामा तानिएका हुन् । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालिएको बताए । काठमाण्डु महानगरपालिकाका तत्कालीन प्रमुख तामाङ र प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की अख्तियारको छानबिन घेरामा परेका छन् । २०७३ जेठ २० मा भएको सम्झौतामा महानगरपालिका र मनोज भेटवालको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ३ वर्षका लागि खुलामञ्च उपभोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । तामाङ त्यतिबेला महानगरका कार्यकारी अधिकृत थिए ।

२०७३ साउन ३० मा उक्त कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिने निर्णयमा तामाङको हस्ताक्षर छ । भेटवालले खुलामञ्चमा अवैध टहरा निर्माण गरी पसलका रुपमा १० देखि १५ लाख रुपैयाँमा बेचेका थिए । त्यसबारे सञ्चार माध्यममा समाचार आएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा शनिबार ४३ वटा टहरामा डोजर लगाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us