नेकपा बैठकमा इश्वर पोखरेलले विष्णु पौडेलको यसरी बचाउ गरे

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १६ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् ।

सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा छलफल सुरु भएको थियो ।

यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत अन्य नेताहरुसँग अनौपचारिक परामर्श गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक बैठकमा नेताहरुले संविधान, पार्टीको चुनाव घोषणा पत्र र राजनीतिक परिवर्तनको आकांक्षा अनुकूल हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्ने सुझाव दिएका थिए ।

रक्षा मन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘पार्टी महासचिव पौडेललाई बालुवाटारको जग्गा प्रकरणमा मुछिएको छ, पार्टीलाई पनि मुछ्ने काम भएको छ’ पोखरेलले भनेका थिए, ‘उहाँलाई मात्र किन एक्लो पार्ने ?’ भन्दै महासचिव पौडेलको बचाउ गरे ।

बैठकमा प्रधानमन्त्री निवास बालुवाटारको जग्गाको विषयमा समेत नेकपा नेताहरुबीच अनौपचारिक तबरमा छलफल भएको थियो । त्यसपछि नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि यस विषयमा बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us