
एजेन्सी – श्रीलंकामा भएको आत्मघाती बम बिस्फोटका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ सुरक्षा कारवाहीमा मारिएका छन् । सुरक्षा कारवाहीमा हाशिमको आमाको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार शंकास्पद स्थानमा प्रहरीले छापामारी गर्ने क्रममा भएको मुटमेटमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मुटभेटका क्रममा मुख्य अभियुक्त हाशिमका बुवा र भाइले आफैले बोकेको बम बिस्फोट गराउँदा उनीहरुको ज्यान गएको पनि प्रहरीले जनाएको छ ।
मुख्य अभियुक्त हाशिमको भने गएको आइतबार कोलम्बोको एक होटलमा भएको आत्मघाती हमलामा मृत्यु भइसकेको छ । उनी इस्लामिक समूह नेशनल तौहीद जमात (एनटीजे) को नेता थिए । घटनापछि सरकारले अहिले यो संगठनलाई प्रतिबन्ध लगाइसकेको छ ।
प्रहरीले कट्टनकुडीको पूर्वी इलाकामा रहेको यो समूहको मुख्यालयमा छापामारी गर्ने क्रममा उनका बुवा र भाइको ज्यान गएको हो । गएको आइतबार देशका विभिन्न ठाउँमा भएको आत्मघाती हमलामा झण्डै २ सय ५० जनाले ज्यान गुमाएका थिए ।