चीनमा राष्ट्रपति भण्डारीले गरिन जापानको प्रशंसा

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १०:३७ मा प्रकाशित

बेइजिङ, १६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्‍यो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन् । उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा समेत गरिन् ।

उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताए ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us