
धरान, १६ वैशाख– एक अन्तरजातीय जोडी शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बने ।
कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह । बेहुला हुन्, अहिले धरान उपमहानगर पालिका–१२ का नवीन राई र बेहुली धरान–१५ की सुष्मा कालिकोटे विश्वकर्मा । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात । यी दुई जातको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रुपमा पचाउन सकेको छैन । तर, नवीन र सुष्माले आधा दसक लामो चिनजान र प्रेमलाई सहज रुपमा विवाहमा परिणत गरेका छन् । उनीहरुका निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरेका छन् । प्रेम विवाह गरेका नवीनका परिवारले शुक्रबार बेलुकी सुष्माको माइतीघरमा पुगेर राई रितअनुसार बिहे गरेपछि रित बुझाउने चलन बुझाएको थियो । त्यसका लागि नवीनको तर्फबाट उनका जेठा दाजु भीम राई ‘ज्वाला’, भाउजु चन्द्र लावती, माइला दाई सुदीप आफैं पनि साथीभाईसहित सुष्माको माइतीघरमा पुगेका थिए । नवीनका परिवारले सुष्मालाई बुहारीका रुपमा सहर्ष स्वीकार गरेकामा पनि यसले सामाजिक विभेदविरुद्ध सकारात्मक सन्देश दिएको भन्दै धेरैले प्रशंसा गरेका छन् ।
नागरिक दैनिकबाट