धनुषामा एकाबिहानै हावाहुरीले वितण्डा मच्चायो

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १२:२६ मा प्रकाशित

धनुषा, १५ बैशाख – धनुषामा आइतबार बिहान आएको हावाहुरीले वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मरसमेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताए ।

यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५ भन्दा बढी पोल ढालेको प्रमुख राजकुमार रमणले जानकारी दिए । यस्तै धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढालेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्यत प्रशारण लाइनमाथि तीनवटा रुख ढलेको छ ।

हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु छिटफुट रुपमा भत्काए पनि पूर्ण विवरण आइनसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us