एकाबिहानै प्रहरी र आतंककारीबीच भिडन्त, १९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १२:१६ मा प्रकाशित

एजेन्सी – श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिबार बिहानै भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन् ।

आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा आतंककारीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराएको सेनाले जनाएको छ ।

उक्त विस्फोटमा परी घरभित्र थप १५ जनाको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । विस्फोटपछि पनि घरभित्र सेनाले थुप्रै विस्फोटक पदार्थ तथा आत्मघाती विस्फोट गर्न सहयोग पुग्ने ‘भेष्ट’हरू भेटेको थियो ।

गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २५० भन्दा बढीको ज्यान गएको थियो । उक्त आक्रमणको अन्तर्रा्ष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो ।

आइएसको सहयोग र दुई स्थानीय संगठनको संलग्ननतामा उक्त विस्फोट गराइएको श्रीलंका सुरक्षा अधिकारीहरूले जनाएका छन् । ती दुवै संगठनमाथि श्रीलंकाले प्रतिबन्ध लगाइसकेको छ ।

अहिले थप आतकंकारीको खोजीमा सुरक्षा फौजले देशैभर खानतलासलाई तीव्र बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us