धादिङमा पुस्तकालय स्थापना गर्न बेलायतबासी नेपाली जुटे

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १५ बैशाख – धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको रातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गरिने भएको छ ।

विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको हो ।

त्यसका लागि बेलायतमा एक च्यारिटी कार्यक्रमको आयोजना गरिने भएको छ । नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा आगामी मे १३ तारिखका दिन मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निमाण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्य भने पुरा हुन सकेको छैन ।

भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको थियो । गत अप्रिल पहिलो साता एशोसिएसनमा दधि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पहिलो च्यारिटी गर्न लागिएको हो ।

संस्थापक अध्यक्ष तिमल्सिनाका अनुसार पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ । जुन रकम पुस्तक खरिदलगायतका आन्तरिक व्यवस्थापनमा खर्च गरिनेछ ।

च्यारिटीमा नेपालबाट आउने राष्ट्रिय स्तरका कलाकारको भव्य प्रस्तुति समेत रहनेछ । बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा करीब ६ सय जनाको सहभागिता रहने अपेक्षा लिइएको छ ।

अहिले टिकट विक्रीका साथै विभिन्न सहयोगदाता र प्रयोजकहरुबाट समेत कोष संकलनको काम भइरहेको आयोजकले जनाएको छ । कार्यक्रममा १० पाउण्डको टिकट तय गरिएको छ भने ५ देखि १० वर्ष मुनीका बालबालिकाको हकमा ७ पाउण्डको तय गरिएको मिडल्याण्डका व्यवसायी कृष्ण ढकालले जानकारी दिए । उनले कार्यक्रमलाई सभ्व र भब्य ढंगले सम्पन्न गर्न आफूहरु लागिपरेको पनि जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us