
हुम्ला, १५ वैशाख – पहिचान नभएको रोगका कारण ९ जनाको ज्यान गएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो ।
औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिसकेको छ । हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ ।
हुम्लाको यो गाउँपालिकामा पहिचान नभएको रोगका कारण ज्यान जानेको सङ्ख्या नौ पुगेको छ । गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको छ ।
अज्ञात रोगका कारण एकजनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म ज्यान गइसकेको छ मैला स्वास्थ्यचौकीका अहेब मोतिलाल जैसीका अनुसार ज्यान जानेमा दुई बालक र सात वृद्ध छन् । शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको ज्यान गएको थियो ।
यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए ।