जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते ९:५५ मा प्रकाशित

नयाँदिल्ली, १५ वैशाख – वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् ।

पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् । रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेकाे बीबीसीले जनाएकाे छ ।

चार महिनायता स्वास्थ्य जटिल बनेपछि शैलेषलाई अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार उनलाई अस्पतालबाट घरमा ल्याइएको थियो । त्यसैदिन उनले घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

जेट एयरवेजका धेरै कर्मचारीले वित्तीय संकट सुरु भएपछि तनाव भइरहेको बताएका छन् । तर, वित्तीय संकट सुरु भएपछि कुनै कर्मचारीले आत्महत्या गरेको घटना भने यो पहिलो हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us