
काठमाण्डु, १३ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको चर्चा गरेका छन् ।
प्रधानमन्त्री ओलीले मनमोहन स्मृति प्रतिष्ठानले शुक्रवार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्याएको योगदानको चर्चा गर्दै वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे ।
स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए ।
अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, ‘चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।’
एकातिर राजतन्त्रको फर्कने चाहना र अर्का्तिर जनयुद्धको तयारीले गर्दा स्व अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताए ।
अधिकारीपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उनको भनाइ छ । वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए ।