चीन जाँदाजाँदै राष्ट्रपतिले दिइन यस्तो ‘सरप्राइज’

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट परिवर्तन भएको छ ।


यसअघि राजकीय भ्रमण गर्दा लामो रुट प्रयोग गर्ने गरिएकोमा सर्वसाधारणले पाउने सास्तीलाई ख्याल गर्दै यसपटक छोटो रुट तय गरिएको हो ।

लामो रुट प्रयोग गर्दा लामो समय काठमाण्डु उपत्यकाको सवारी जाम हुने तथा सर्वसाधारणले अनावश्यक हैरानी बेहोर्नुपरेको गुनासो बढेपछि गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको जनाएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा छिमेक मुलुक चीनतर्फ गएकी छिन् । ९ दिने भ्रमणमा निस्किन लागेकी राष्ट्रपति भण्डारी ११ बजे एयरपार्टबाट चीन उडेकी थिइन् ।

यसअघि, राष्ट्रपति राजकीय भ्रमणमा निस्कँदा प्रयोग हुदै आएको शीतलनिवास हुँदै लाजिम्पाट, केशरमहल दरवारमार्गको दक्षिणगेट, भद्रकाली ,सिंहदरवार, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगलबाट एयरपोर्ट सडक प्रयोग हुने गरेको थियो ।

तर, यसपटक भने सो रुट परिवर्तन गरिएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरिएको छ ।

गृहमन्त्रालयको सुरक्षा महाशाखाका अनुसार सर्वसाधारणलाई समस्या नहुनेगरी नयाँ रुट प्रयोग गर्न लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us