मोहन वैद्यसहित ४ पार्टीले गरे कार्यगत एकता

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते ९:५९ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – चार वटा साना कम्युनिस्ट घटकले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका छन् । मोहन वैद्य (किरण)देखि ऋषिराम कट्टेलसम्मका साना पार्टीले कार्यगत एकता गर्ने सहमति गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध लड्न वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सुलभ नेतृत्वको अर्को नेपाल कम्युनिष्ट दलले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका हुन् ।

उनीहरुले अंगीकृतका सन्तानलाई नागरिकता वितरण गर्ने सरकारको निर्णयको आलोचना गर्दै वितरण गरिएको नागरिकता रद्द गर्न माग गरेका छन् ।

विप्लव समूहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिबन्ध लगाइएको ४ दलले आरोप लगाएका छन् । ‘राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दर्छौं’, कार्यगत एकताको सहमतिबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

वाइडबडी जहाज खरीद, ललितानिवास जग्गा बिक्री प्रकरण तथा एनसेल कर छलीबारे पनि ४ दलले चासो राखेका छन् । उनीहरुले यी प्रकरणमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न भनेका छन् ।

३३ किलो सुन तस्करी र निर्मला पन्तको हत्या छानबिनमा सरकारले उदासीनता देखाएको निष्कर्ष निकाल्दै उनीहरुले संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us