विप्लवलाई प्रचण्डको चेतावनीः विद्रोह गर्ने भ्रम नपाल्नुस्

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १४:२८ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित आदिवासी–जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी–जनजाति समूदायलाई पनि सचेत गराए । उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

उनले आदिवासी–जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष प्रचण्डले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दबाब दिन जरुरी रहेको पनि बताए । उनले संविधानमा किटान गरिएको आदिवासी–जनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको पनि स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातिहरुको आत्मसम्मान हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us