बंशजको नागरिकताको विषयमा भीम रावलपछि बोले मोहविक्रम

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १२:०५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – मसालका महासचिव मोहनविक्रम सिंहले सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिन गरेको निर्णयको विरोध गरेका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णय गलत भएको जिकिर गर्दै यसले विदेशीहरू ठूलो सङ्ख्यामा देशको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।

सिंहले नागरिकतासम्बन्धी विधेयक संसदमा विचारधीन भएकै बेलामा गृहमन्त्रालयले परिपत्र जारी गर्नु संसदको अपहेलना भएको टिप्पणी गरेका छन् । सँगसँगै संसदमा प्रस्तुत विधेयकमा राष्ट्रघाती प्रावधानहरू राखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘राष्ट्रिय जनमोर्चाका सांसद सहित कैयौँ सांसदहरूले त्यस प्रकारका राष्ट्रघाती प्रावधानका विरुद्ध संशोधन प्रस्तावहरू राखेका छन् । त्यसका साथै त्यो नागरिकता संशोधन विधेयककाविरुद्ध देशव्यापी रूपमा आवाज उठिरहेको छ र आन्दोलन पनि भइरहेको छ । त्यो अवस्थामा त्यस प्रकारको जनमत र राष्ट्रिय हितको समेत उपेक्षा गरेर त्यस प्रकारको विधेयक ल्याउने प्रयत्न गर्नु र त्यसबारे बेग्लै परिपत्र जारी गर्ने सरकारको कदमका पछाडि विदेशी दवावले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसको परिणामस्वरूप ठूलो सङ्ख्यामा विदेशीहरूले नेपालको नागरिक बन्ने र त्यसको परिणाम स्वरूप नेपाल फिजी बन्ने समेत खतरा छ ।’

सरकारको त्यस प्रकारको कदमका विरुद्ध सशक्त आवाज उठाइनुपर्ने सिंहले आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवासको जग्गा व्यक्तिहरूको नाममा दर्ता भएको कुरालाई पनि पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाका नेता भीम रावलले पनि बंशजकोआधारमा नागरिकता दिन नहुने बताएका छन् ।

नेता रावलले भनेका छन्, ‘कथित समानताको आवरणमा नेपालभित्र विदेशीहरूलाई भित्र्याउने कार्य नहोस् भनी मैले अनेक पटक पार्टीमा र सार्वजनिक रूपमा भन्दै आएको छु । यसबारे प्र.म. निवास बालुवाटारमा भएको उच्चस्तरीय छलफलका निष्कर्षभन्दा बाहिर गएर जनसंख्याको राजनीतिबाट नेपाल सिध्याउने खेल नहोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us