हृदेश त्रिपाठीले गरे नयाँ पार्टी खोल्ने संकेत

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख – प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् ।

सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले यस्तो माग गरेका हुन् । उनले भने,‘चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द छन् । यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ । सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ । नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ । उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ ।’

सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । उनले भने,‘चिनी मिल सञ्चालकहरुले डेढ महिना ढिलो मिल सञ्चालन गर्दापनि यो सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकहरुमाथि कुनै हस्तक्षेप गर्न सकेन् । जसको कारण आज किसानहरु ठूलो मारमा परेका छन् ।’

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदापनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ ।उनले भने,‘यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ । र, ढिलो मिल चलाएको कारण मिल सञ्चालकहरुले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको सुनाउँदै यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए ।

त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउने हो भने किसानलाई पहिले सुखी तुल्याउनुपर्ने बताए । उनले भने,‘अहिलेपनि ६५ प्रतिशत जनसंख्या किसान छ । उनीहरु सुखी नभएसम्म मुलुक समृद्ध हुँदैन् ।’

आफूले किसानहरुको समस्या समाधान गराउने उद्देश्यले मन्त्रीहरुको पटक–पटक ध्यानाकर्षण गराईसकेको पनि उनले जनाए । उनले भने,‘सरकारले अविलम्ब स्थानीय सरकारलाई निर्देशन दिनुपर्छ । जुन जुन जिल्लामा समस्या छ, ती जिल्लाका अनुमानित लागत लिएर उनीहरुलाई अनुदान दिनुपर्छ ।’

नेपालको ईतिहासमै पहिलो पटक चीनी मिलहरु यसरी ढिलो चलेको सुनाउँदै त्रिपाठीले आक्रोश पोखे,‘चिनी मालिकहरुले अपराध गरेका छन् । र, सरकारको अकर्मण्यताका कारण किसानहरुको अवस्था नाजुक छ । उनीहरु मारमा परेका छन् । आफूले लगाएको उखु आँफै आगो लगाउने अवस्थामा छन् ।’ ईन्धनको मुल्यभन्दापनि उखुको मुल्य सस्तो रहेको उनको टिप्पणी थियो ।

फरक प्रसंगमा उनले सरकारको पहिलो वर्षको मुल्यांकन गर्दा निराशजनक अवस्था नरहेको जिकिर गरे । उनले भने,‘सरकारको पहिलो वर्षको मुल्यांकन गर्दा विफल नै भैसक्यो भन्ने पक्षमा म छैन् । राज्यको अगंहरुमा हुनुपर्ने काम भएका छन् ।’

उनले सरकारले अब आफ्ना प्राथमिकताहरु निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘अलिक कम बोल्ने र बढि काम गर्नुपर्छ । जनतासामू गरेका वाचाहरु पूरा गर्नुपर्छ । नियमित र कर्मकाण्डी काममा जनताको कुनै चासो छैन् । जनता त नयाँ कुरा हेरेर बसेका हुन्छन् ।’

उनले आफूहरु अहिले भएका दलमा सहभागी नहुने जिकिर पनि गरे । उनले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । उनले भने,‘जीवन नै राजनीतिमा बित्यो । चना र चटपटे बेचेर बस्दैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us